
२० बैशाख,
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि सरकारले कडाइ गरेको बताएका छन्।
आइतबार निजी क्षेत्रसँगको संवाद कार्यक्रममा बोल्दै उनले तस्करी नियन्त्रण गर्दा सीमा क्षेत्रमा केही असन्तुष्टि देखिए पनि यस्तो गतिविधि रोक्न कडाइ अनिवार्य भएको स्पष्ट पारे। “राज्यले खुलमखुल्ला भइरहेको तस्करी टुलुटुलु हेरेर बस्न सक्दैन,” उनले भने।
लामिछानेका अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनशैली वारिपारि आवतजावत गर्दै सस्तो बजारबाट किनमेल गर्नेमा आधारित छ। तर यसले स्वदेशी व्यवसायीहरू प्रभावित हुने भएकाले सन्तुलन आवश्यक रहेको उनले बताए।
उनले उपभोक्ता र व्यवसायी दुवैको हितलाई ध्यानमा राख्दै सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गरी वर्तमान कडाइको नीतिमा पुनर्विचार गर्ने तयारी भइरहेको पनि जानकारी दिए।
“उपभोक्तालाई सस्तो बजार चाहिन्छ, तर स्वदेशी व्यवसाय पनि फस्टाउनुपर्छ। यी दुवै पक्षलाई सन्तुलनमा राखेर सरकारले नीति बनाउनुपर्छ,” उनले जोड दिए।








