
८ असोज,
नेपालमा बालबालिकाहरूलाई समेत लगाउन मिल्ने कोरोना विरुद्धको एक लाख ६ सय ३० डोज फाइजर खोप दशैँअघि नै आइपुग्ने भएको छ ।
द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी)मार्फत अनुदान स्वरूप फाइजर खोप आउन लागेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए ।
उनका अनुुसार आउन लागेको फाइजर खोप द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसनले नेपालमा हाल भएको भण्डार कक्षमा भण्डार गर्न कत्तिको उपयुक्त हुन्छ भनी ट्रायल स्वरूप अनुदानमा पठाउन लागेको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताएका छन । यसरी आउने खोप नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउन लागेको हो र खोप आइपुग्ने मिति भने टुंगो लागिसकेको छैन । तर, उक्त खोप दशैँअघि नै आइसक्ने समेत जानकारी गराएका छन ।
नेपालमा फाइजर खोप भण्डारणका लागि केही हप्ताअघि युनिसेफले ४ वटा फ्रिजमा १ लाख २० हजार मात्रा खोप भण्डारण गर्न मिल्ने उपलब्ध गराइसकेको छ।
फाइजर खोप हालसम्म नेपालमा कोरोनाविरुद्ध ल्याइएका अन्य खोप भन्दा अलि फरक भएकाले यो खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने, सिरिन्ज पनि शून्य दशमलव ३ एमएमको चाहिने भएकाले हाल स्वास्थ्य सेवा विभागले त्यसको तयारी गरिरहेको छ।