
२७ चैत्र,
बाँके : सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गरेसँगै स्वास्थ्य सेवालाई निरन्तरता दिन आइतबारसमेत अस्पतालका बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आइतबारको बिदाका कारण बिरामीलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू भइसकेको छ। सोही व्यवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले नयाँ कार्यविधि अघि सारेको जनाएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र उपलब्ध जनशक्तिको आधारमा आइतबार ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ।
यस्तै, आइतबार काम गर्ने कर्मचारीलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिई दुई दिन बिदाको व्यवस्था मिलाउन भनिएको छ। बिदा दिन नसकिने अवस्था आएमा सट्टा बिदा उपलब्ध गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले प्रादेशिक अस्पतालहरूमा समेत यही व्यवस्था लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूसँग समन्वय गर्न निर्देशन दिएको छ।










