
२० चैत्र,
बाँके – कलाकार सागर लम्साल (बले) बलात्कारको आरोप लागेपछि चलचित्र ‘पाँच पाण्डव’बाट निष्काशित भएका छन्। निर्माण कम्पनी कालीरानी फिल्मस् प्रा.लिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनलाई फिल्मबाट हटाइएको जानकारी दिएको हो।
अमेरिकामा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत एक वर्षअघि लम्सालले आफूमाथि बलात्कार गरेको आरोप सार्वजनिक गरेपछि यो निर्णय लिइएको जनाइएको छ।
कालीरानी फिल्मस्का नबिन श्रेष्ठका अनुसार आरोप सार्वजनिक भएपछि आपतकालीन बैठक बसेर नैतिकताको आधारमा लम्साललाई चलचित्रबाट हटाउने निर्णय गरिएको हो। साथै, ‘पाँच पाण्डव’ टिमले घटनाको निष्पक्ष छानबिनको माग समेत गरेको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार चैत २ गतेदेखि झापा आसपासमा छायांकन भइरहेको चलचित्रमा लम्सालका करिब ९० प्रतिशत दृश्य खिचिसकिएको भए पनि अब उनी फिल्मको कुनै पनि भागमा समावेश नहुने स्पष्ट पारिएको छ।
निर्माण पक्षले सम्पूर्ण नेपाली चलचित्रकर्मी, समाजका प्रबुद्ध वर्ग र दर्शकसमक्ष उक्त निर्णयबारे जानकारी गराउँदै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।









