
२९ फागुन,
बाँके । प्रतिनिधिसभामा अब ६ राजनीतिक दल रहने भएका छन्। यही फागुन २१ गते सम्पन्न प्रत्यक्ष तथा समानुपातिक निर्वाचनको अन्तिम मतगणनापछि संसद्मा ६ दलको प्रतिनिधित्व हुने निश्चित भएको हो।
निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। यससँगै रास्वपाको कुल १८२ सांसद प्रतिनिधिसभामा रहने भएका छन्।
त्यस्तै, नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ २० सिट गरी कुल ३८ सिट हासिल गरेको छ।
नेकपा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जित्दै कुल २५ सिट प्राप्त गरेको छ। यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जित्दै कुल १७ सांसद संसद्मा पठाउने भएको छ।
यसैगरी श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ गरी ७ सिट प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ४ गरी कुल ५ सिट जितेको छ।
यस निर्वाचनबाट एक स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।
निर्वाचन परिणामसँगै प्रतिनिधिसभामा दलहरूको नयाँ शक्ति सन्तुलन देखिएको छ। सबैभन्दा ठूलो दल बनेको रास्वपाले आगामी सरकार गठनमा प्रमुख भूमिका खेल्ने देखिएको छ।










