
१३ फागुन,
बाँके । नेपाली कांग्रेसले बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाको संकल्प–पत्र सार्वजनिक गरेको छ। मंगलबार नेपालगन्जमा आयोजित औपचारिक समारोहबीच संकल्प–पत्र सार्वजनिक गरिएको हो।
संकल्प–पत्रमा कानून/न्याय, सुशासन, भौतिक पूर्वाधार विकास, उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशीलता, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद र धर्म/संस्कृति जगेर्ना जस्ता विषयलाई बुँदागत रूपमा समेटिएको छ। उम्मेदवार कोइरालाले लोकतन्त्र, संविधान, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहँदै कटिबद्ध भएर काम गर्ने दृढता व्यक्त गरेका छन्।
कोइरालाले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीति कार्यान्वयन गर्न पहल गर्ने, सरकारी निर्णय, बजेट र योजनाबारे नागरिकलाई जानकारी गराउने व्यवस्था सुनिश्चित गर्ने, सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि भूमिका खेल्ने तथा जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउने नीति अवलम्बन गर्ने संकल्प व्यक्त गरेका छन्।
भौतिक पूर्वाधारतर्फ नेपालगन्जमा वृहत चक्रपथ (रिङरोड) परियोजना अघि बढाउने, नेपालगन्ज र डुडुवा क्षेत्रमा सडक, ढल तथा नाला निर्माणलाई प्राथमिकता दिने तथा ग्रामीण क्षेत्रमा फुसको छानो विस्थापन गरी वैकल्पिक छानो व्यवस्थाका लागि पहल गर्ने उल्लेख छ।
भारतसँगको आयात–निर्यातलाई सहज बनाउन आइसीपी प्रभावकारी रूपमा सञ्चालन गर्ने, खुला सिमानाबाट हुने चोरी–पैठारी नियन्त्रणका लागि भन्सार मूल्यांकन पुनरावलोकन गर्न पहल गर्ने, नयाँ उद्योगका लागि करमैत्री नीति लागू गर्ने तथा स्थानीय उद्योगको प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न पहल गर्ने, नेपालगन्ज–दिल्ली लगायत भारतीय शहरमा सिधा उडानका लागि कूटनीतिक पहल गर्ने योजना संकल्प–पत्रमा समेटिएको छ। साथै बागेश्वरी मंदिर , जुँगे खडेश्वर महादेव, गौशाला हनुमान मन्दिर (१०८ फिट), राप्ती (सिधनियाघाट), राप्ती गंगा महाआरती तथा बेतहनी पाँझस्थित शिवधामलाई धार्मिक–सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उल्लेख छ।
नेपालको संविधान २०७२ को कार्यान्वयनमा प्रतिबद्ध रहँदै आवश्यक संशोधनका लागि पहल गर्ने, राष्ट्रिय तथा सामुदायिक वन संरक्षणमा जोड दिने र कृषिमा सिँचाइ सुविधा विस्तार गर्ने योजना रहेको छ। गुणस्तरीय शिक्षाका लागि विद्यालय, कलेज तथा विश्वविद्यालयलाई डिजिटलाइजेशन र प्रयोगशाला स्तरोन्नतिमा जोड दिइनेछ।
स्वास्थ्यतर्फ भेरी अस्पताललाई ५ सय शैयामा स्तरोन्नति गर्ने र पुरानो ओपिडी ब्लक भत्काएर अत्याधुनिक संरचना निर्माण प्रक्रिया तीव्र पार्ने संकल्प गरिएको छ। साथै युवा नीति कार्यान्वयन, क्रिकेट र फुटबल मैदान निर्माणसहित खेलकुद विकासमा पहल गरिने उल्लेख छ।
उम्मेदवार कोइरालाले ऐतिहासिक, सांस्कृतिक तथा बहुभाषिक विशेषता बोकेको यस क्षेत्रलाई शान्त, सद्भावपूर्ण र समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन्। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सामाजिक सद्भाव कायम राख्न पूर्ण समर्पित रहने उनको भनाइ छ।
कार्यक्रम नेपाली कांग्रेस बांके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य युवराज शर्माले कोइराला योग्य र सक्षम उम्मेदवार भएको बताए। कार्यक्रममा कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, प्रचार–प्रसार संयोजक उमा थापामगर, क्षेत्रीय सचिव सुनिलसिंह हमाल तथा संकल्प–पत्र तयारी समिति सदस्य ललित कुमार रौनियार लगायतको उपस्थिति रहेको थियो।












