
२९ माघ,
बाँके – भारत र श्रीलंकामा जारी टी–२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा इटलीसँग प्रतिस्पर्धा गर्दैछ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।
नेपालले टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो। यद्यपि ५० ओभरको प्रारुपमा भने नेपाल र इटली तीन पटक आमनेसामने भइसकेका छन्, जसमा तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको इतिहास छ।
सन् २००५ मा मलेसियामा भएको विश्वकप छनोट डिभिजन–२ मा नेपालले इटलीलाई पराजित गर्दा शक्ति गौचनले १०३ बलमा अविजित १०६ रनको शतक प्रहार गरेका थिए। उक्त शतक युरोपेली राष्ट्रविरुद्ध नेपालको पहिलो शतक थियो। त्यसपछि सन् २०१० मा इटलीमै आयोजित विश्वकप लिग डिभिजन–४ मा नेपालले ५ विकेटको जित निकाल्दा अमृत भट्टराईले महत्वपूर्ण ३ विकेट लिएका थिए। सन् २०१३ मा बर्मुडामा भएको विश्वकप लिग डिभिजन–३ मा पनि नेपालले इटलीलाई ८ विकेटले हराएको थियो।
यता, इटलीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको हो। डेब्यु खेलमा भने इटली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो।
तेस्रो पटक विश्वकप खेलिरहेको नेपाललाई सुपर आठमा प्रवेश गर्ने लक्ष्य कायम राख्न इटलीविरुद्ध जित अनिवार्य छ। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा छ। समूह ‘सी’ मा अझै तीन खेल बाँकी रहेकाले शीर्ष दुई स्थानमा पुग्ने सम्भावना भने जीवितै छ। नेपालले वेस्ट इन्डिज र स्कटल्याण्डसँग पनि खेल्न बाँकी छ।
जारी विश्वकपमा पाँच टिम रहेको प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर आठमा पुग्ने प्रावधान छ। नेपालले वानखेडे स्टेडियममै सबै समूह चरणका खेल खेल्ने अवसर पाएको छ। मंगलबार सोही मैदानमा अभ्यास गर्ने मौका पाएको नेपालका लागि मैदानसँग अभ्यस्त हुनु आजको खेलमा महत्वपूर्ण फाइदा हुन सक्छ।












