
२ मंसिर,
नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ४ स्थित नहर चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । नेपालगन्जबाट खजुरा तर्फ जाँदै गरेको भे १ ज ३३९ नम्बरको मोबाइल भ्यानले सोही दिशामा रहेको भे १३ प ९४२८ नम्बरको अपाची मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
बिहान करिब ९:०० बजे भएको उक्त दुर्घटनामा परी नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकादो बस्ने २० वर्षीया मन्जु धोबी गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउकोमा भित्री चोट लागेको र चिकित्सकहरूको सल्लाह अनुसार अवस्था चिन्ताजनक (सिरियस) रहेको बुझिएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार ५५ वर्षीया सुर्ती धोबी र चालक २४ वर्षीय गिरबल धोबी पनि घाइते हुनुभएको छ । सुर्ती धोबीको दाहिने घुँडा, दुवै कुहिनो र कम्मरमा चोट लागेको छ भने गिरबलको कम्मर र दाहिने हातमा ददारिएको चोट छ । उहाँहरू दुवैको अवस्था भने सामान्य रहेको छ । घाइते सबैको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि. मा उपचार भइरहेको छ ।
बाँके अपडेटलाई प्राप्त जानकारी अनुसार मोटरसाइकल चालक गिरबल धोबीसँग सवारी चालक अनुमति पत्र रहेको र उहाँले मादक पदार्थ सेवन नगरेको (मापसे नेगेटिभ) पुष्टि भएको छ ।











