
२२ मंसिर,
बाँके – कोहलपुर उद्योग वाणिज्य संघद्वारा आगामी पौष ९ गतेदेखि १८ गतेसम्म आयोजना हुन लागेको कोहलपुर महोत्सव २०८२ को तयारीप्रति राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाँके ले कडा आपत्ति र घोर भर्त्सना गरेको छ।
संघका इन्चार्ज सन्दिप बानियाका अनुसार महोत्सवको तयारी प्रक्रिया संगठनको मूल मर्म र उद्देश्यविपरीत अपारदर्शी, पक्षपातपूर्ण, स्वार्थ–समूहमुखी र कमिशनको खेलले निर्देशित भएको देखिएको छ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ— “स्थानिय उत्पादन, उद्योग र व्यापारको प्रवर्द्धनका लागि आयोजना गरिने महोत्सवलाई आजसिमित ठेकेदारको कमाई गर्ने भाँडो बनाइएको छ, जुन प्रवृद्धि र स्वच्छ प्रतिस्पर्धाका बिलकुल विपरीत छ।”
राष्ट्रिय युवा संघ नेपालले आफूहरू जनजिविका, जनसरोकार, सामाजिक न्याय, सुशासन, राष्ट्रियता र मुलुकको सार्वभौम हित का लागि निरन्तर खटिँदै आएको बताउँदै, महोत्सव आयोजना तथा व्यवस्थापन प्रक्रियाले ती आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गरेको आरोप लगाएको छ।
संघले महोत्सव पारदर्शी, निस्पक्ष, स्वच्छ प्रतिस्पर्धा र सबै सरोकारवालासँगको समन्वय मार्फत सञ्चालन गर्न आग्रह गरेको छ।
साथै संघले चेतावनी दिँदै भनेको छ—“हाम्रो आग्रहलाई बेवास्ता गर्दै गलत तरिकाले, बिधिविपरित ढंगले मेला संचालन गर्ने नियत देखिए राष्ट्रिययुवा संघ नेपाल बाँके चुप लागेर बस्ने छैन। आवश्यक कदम चालिनेछ, र त्यसबाट हुने कुनै पनि घटना वा दुर्घटनाको सम्पूर्ण जिम्मेवारीसम्बन्धित निकायले लिनुपर्छ।”












