१ मंसिर,

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ।

सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सकाठमाडौँ गोर्खाज आमनेसामने हुने छन्। किर्तिपुरस्थित टियु मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ। यो सिजनका धेरैजसो खेल नवनिर्मित टियु क्रिकेट मैदानको फ्लडलाइटमा सम्पन्न हुने क्यानले जनाएको छ।

यस पटक एनपीएल सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर पार गर्दै मंसिर २७ गते उपाधिका लागि फाइनल खेल हुनेछ। प्रतियोगितामा कुल ३२ खेल हुने छन्।

गत वर्ष क्यानले आठ सहरका नाममा टिम बिक्री गरेको थियो। सोही अनुसार यस संस्करणमा पनि जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्रतिस्पर्धामा छन्।

सबै टिमले अक्सनमार्फत विश्वस्तरीय खेलाडी आबद्ध गरेका छन्। एक टिममा ४ देखि ६ विदेशी खेलाडी सम्म राख्न पाउने प्रावधान छ। यस पटक फाफ डु प्लेसिस, जेसन रोय, वेयने पार्नेल, क्रिस लिन, इमरान ताहिरलगायत ४० भन्दा बढी विदेशी खेलाडी सहभागी छन्। साथै अधिकांश टिमले नामी विदेशी प्रशिक्षक पनि भित्र्याएका छन्।

यस वर्ष पाँच टिमले विदेशी प्रशिक्षक नियुक्त गरेका छन्।

• गत वर्ष जनकपुरलाई च्याम्पियन बनाएका पुबुदु दसनायके अब विराटनगर किङ्सका प्रशिक्षक

• जनकपुरको नयाँ प्रशिक्षकमा वेस्टइन्डिजका दिग्गज शिवनारायण चन्दरपल

• काठमाडौँ गोर्खाजले नेपालको पूर्वप्रशिक्षक मोन्टी देसाई

• पोखरा एभेन्जर्सले भारतका राजीव कुमार

• लुम्बिनी लाइन्सले भारतीय मूलका टिनु योहान्ना लाई जिम्मेवारी दिएका छन्।

लिग चरणको अन्तिम खेल डिसेम्बर ७ मा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ। प्लेअफ अन्तर्गत पहिलो क्वालिफायर डिसेम्बर ९, इलिमिनेटर डिसेम्बर १०, दोस्रो क्वालिफायर डिसेम्बर ११ गते हुनेछ।

एनपीएलको फाइनल मंसिर २७ (डिसेम्बर १३) शनिबार टियु मैदानमा आयोजना हुनेछ।

प्रतिक्रिया

सम्बन्धित ख