
२३ असोज,
नेपालगञ्ज – बाँके प्रहरीले ठूलो रकमसहित १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। नेपालगञ्जको बसपार्क नजिक रहेको मौरी रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिए।
प्रहरीका अनुसार गएराति करिब ११:३० बजे रेष्टुरेन्टको दोस्रो तल्लामा तास खेलिरहेको अवस्थामा नेपालगञ्ज र कोहलपुरका १४ जना व्यक्तिलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूमा नेपालगञ्जका गणेश बस्नेत, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मो. सफिक बेहना, संगम शाह, मधुसुधन दाहाल, मेघराज गौतम, रमेश शाही र कोहलपुरका भागीरथ यादव, नन्दलाल यादव, सुमन केसी तथा रेष्टुरेन्ट सञ्चालक विज्ञान श्रेष्ठ रहेका छन्।
उनीहरूको साथबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद, खेल्दै गरेको दुई गड्डी तास र नखोलेको आठ गड्डी तास बरामद गरिएको प्रहरी निरीक्षक यमबहादुर बुढामगर नेतृत्वको टोलीले जनाएको छ।
एसपी जिसीका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि जुवा ऐनअन्तर्गत कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ।











