
४ बैशाख,
बाँके । ज्यान मार्ने उद्योगको अभियोगमा थुनामा रहेका बाँके राप्तीसोनारी–२, का वडाध्यक्ष ज्ञानेन्द्रराज वली बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्चमा आइपुगेका छन् । नेपाली कांग्रेसका कार्यकर्ता सुलभ मल्ल र सन्दीप विष्टलाई खुँडा प्रहार गरी हत्याको प्रयास गरेको अभियोगमा उनीसहित ९ जनालाई जिल्ला अदालत बाँकेले पुर्पक्षको लागि थुनामा पठाएको थियो । उच्च अदालत नेपालगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई सदर गरिदिएपछि उनी सर्वोच्च आइपुगेका हुन् ।
वली एमालेको एमालेका नेता हु्न् । वलीले दायर गरेको निवेदनमा शुक्रबार (भोलि) सुनुवाइको लागि पेशी तोकिएको छ । गत भदौ १ गते वडाध्यक्ष वलीसहित ९ जनाले बाँकेको बिनौना चोकमा शुलभ र सन्दीपमाथि खुँडा र खुकुरी प्रहार गरेको आरोप छ । सन्दीपकी श्रीमती चेतना पुरी विष्टले ९ जनाविरूद्ध ज्यानमार्ने उद्योगमा प्रहरीमा किटानी जाहेरी दिएकी थिईन् ।
अहिले वडाध्यक्ष वली, सन्दीप वली, रत्न भण्डारी, लोकेन्द्र डाँगी, विशाल भण्डारी थुनामै छन् । उनीहरु राजनीतिक पहुँच देखाएर थुनामुक्त हुन सर्वोच्च अदालतसम्म आइपुगेको हुनसक्ने पीडित परिवारको आशंका छ । उनीहरु छुटेको खण्डमा पुनः वितण्ड मच्चाउन सक्ने भन्दै पीडित परिवार त्रसित बनेका छन् । उक्त ज्यान मार्ने उद्योगका आरोपित नारायण डाँगी, बाला भनिने सन्तोष गुप्ता, नवीन भण्डारी, ऋषि देवकोटा र आगमन प्रताव सिंह फरार छन् ।