दाङ, घोराही – शोस्ती वाचन र शङ्खध्वनीसँगै सुरु भएको नेपाल मोबाइल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा दाङको घोराहीमा एक भव्य, व्यवस्थित र ऐतिहासिक समारोहका साथ सफलतापूर्वक सम्पन्न भयो। मोबाइल व्यवसायीहरूबीच एकता, समन्वय र व्यवसायिक हितको लागि साझा मञ्चका रूपमा क्रियाशील महासंघले यस सभामार्फत आगामी योजनाहरूको स्पष्ट खाका प्रस्तुत गर्दै व्यवसायिक जगलाई अझ मजबुत बनाउने संकेत दिएको छ।

कार्यक्रमको अध्यक्षता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री शेषनारायण शर्माले गर्नुभयो भने, प्रमुख अतिथि प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री श्री प्रचण्ड विक्रम न्यौपानेको विशेष उपस्थिति रहेको थियो। मन्त्री न्यौपानेले प्रदेशको डिजिटल रूपान्तरणमा मोबाइल व्यवसायीहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सरकार र व्यवसायीबीचको सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभामा विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण प्रसाद लम्साल, महासंघका केन्द्रिय अध्यक्ष श्री भरत भट्टराई, केन्द्रिय उपाध्यक्षद्वय श्री रमेश घिमिरे र श्री दिपक पाण्डे, साथै स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लुम्बिनी प्रदेशभरिका १२ जिल्लाबाट आएका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता कार्यक्रमको विशेष आकर्षण रह्यो। विशेष रूपमा वर्दियाका गणेश खनाल, बाँकेका गोविन्द भण्डारी, दाङका शरद के.सी., पश्चिम नवलपरासीका श्याम बहादुर खत्री र रुपन्देहीका उपाध्यक्ष शालिकराम क्षेत्रीले कार्यक्रमलाई अझ रंगीन र समृद्ध बनाएका थिए।

सभाको प्रमुख आकर्षण “नेपाल मोबाइल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको पात्रो विमोचन” रह्यो। यो पात्रोले महासंघका भावी योजना, कार्यदिशा र गतिविधिहरूलाई मार्गनिर्देशन गर्ने उद्देश्य राखेको छ।

यस सभाबाट मोबाइल व्यवसायीहरूबीच आपसी समन्वय, अनुभव आदानप्रदान र नीति निर्माणमा साझा आवाज प्रस्तुत गर्ने बलियो आधार तयार भएको महसुस गरिएको छ। महासंघले आगामी दिनहरूमा व्यवसायमैत्री नीति, प्रविधिको आधुनिकता र ग्राहक सेवा सुधारतर्फ प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यस भव्य समारोहको सफल आयोजनाले लुम्बिनी प्रदेशको मोबाइल व्यवसाय क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र समन्वित बनाउँदै सम्पूर्ण व्यवसायी वर्गमा नयाँ उत्साह र ऊर्जा प्रदान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख