
२४ चैत्र,
बाँके । शनिबार बाँकेको नेपालगन्जमा प्रदर्शनकाक्रममा वीपी कोइरालाको शालिकमा कालोमासो दलिएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले माफी मागेको छ।
राप्रपा नेपालगन्ज नगर कमिटीको आयोजनामा शनिबार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा धवलशमशेर राणालगायत नेताहरुको रिहाइका लागि नेपालगन्जमा प्रदर्शन भएको थियो।
प्रदर्शनकाक्रममा वीपी चोकमा रहेको शालिकमा कालोमोसो दल्ने, कालो कपडा फाल्ने कार्य भएको थियो। उक्त कार्य भवितव्यका रुपमा भएको भन्दै राप्रपा नेपालगन्ज नगर कमिटीले माफी मागेको हो।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल वा व्यक्तिको आस्थामाथि ठेस पुगेकोमा राप्रपाले माफी मागेको छ।
‘सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्वप्रधानमन्त्री वीपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रहिरहनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्य समिति क्षमाप्रार्थी छौँ।’
शालिकमा कालोमोसो दल्ने कार्य भएकोप्रति कांग्रेस बाँकेले आपत्ति प्रकट गर्दै दोषिलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको थियो।