
दैलेख, फागुन १८ – लैंगिक समानता प्रवर्द्धन तथा सकारात्मक सामाजिक परिवर्तनका लागि दैलेखको नारायण नगरपालिका वडा नं. ५ मा अन्तरपुस्ते संवाद कार्यक्रम सम्पन्न भएको छ। आवाज संस्थाको आयोजनामा तथा युरोपेली संघको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघीय निकायहरू— UNICEF, UNFPA, UNWOMEN, ILO को सहकार्यमा सञ्चालित “शसक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत उक्त संवाद कार्यक्रम सम्पन्न भएको हो।
वडा नं. ५ का वडा अध्यक्ष एमानसिङ्ग थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय किशोरदेखि वयस्क पुरुषसम्मको उत्साहजनक सहभागिता रहेको थियो। ५७ जना भन्दा बढी सहभागी रहेको उक्त कार्यक्रममा लैंगिक समानता, घरेलु हिंसा न्यूनीकरण, तथा सेवाहरूमा पहुँच अभिवृद्धि जस्ता विषयमा गहन छलफल गरिएको थियो।
लैंगिक समानताका लागि पुरुष सहभागिता अपरिहार्य
वडा अध्यक्ष थापाले समाजमा परम्परागत सोच परिवर्तनको आवश्यकता औंल्याउँदै भने—
“महिलाले मात्र सन्तान हुर्काउने होइन, बाबुको पनि उत्तिकै भूमिका हुनुपर्छ। पारिवारिक जिम्मेवारी बाँडफाँड हुँदा मात्र सन्तुलित समाज निर्माण सम्भव छ।”
नेपालमा लैंगिक असमानताको मूल कारण सामाजिक तथा सांस्कृतिक बन्धन रहेको भन्दै अन्य वक्ताहरूले यी सीमाहरू तोड्न आवश्यक रहेको बताए। घरेलु हिंसा न्यूनीकरण तथा महिलाहरूलाई स्वतन्त्र निर्णय लिने वातावरण सिर्जना गर्नु पर्नेमा उनीहरूले विशेष जोड दिए।
कार्यक्रमका प्रशिक्षक कर्ण बहादुर खत्री ले नेपालको संविधानले नागरिकहरूलाई प्रदान गरेको समानता र स्वतन्त्रताको हक को विषयमा प्रकाश पार्दै भने—
“पुरुषहरूले पनि घरायसी जिम्मेवारी बाँड्ने संस्कार विकास गरे मात्र लैंगिक समानता स्थापित हुनेछ।”
कार्यक्रमका मुख्य उद्देश्यहरू
✅ विषद् पुरुषत्व (Toxic Masculinity) का प्रभावबारे जानकारी गराउने।
✅ लैंगिक विभाजनका कारणबारे छलफल गर्ने।
✅ समाजले परिभाषित गरेको पुरुषत्वका मापदण्ड माथि विवेचना गर्ने।
✅ हानिकारक लैंगिक मान्यताहरूलाई चुनौती दिने उपायहरू खोज्ने।
समाजमा सकारात्मक परिवर्तनको अपेक्षा
आयोजक संस्थाका अनुसार यस प्रकारका संवाद कार्यक्रमहरूले लैंगिक समानतासम्बन्धी मुद्दाहरूमा खुलेर छलफल गर्ने अवसर प्रदान गर्छन्। साथै, सामाजिक सोचमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रशिक्षक खत्रीका अनुसार किशोर तथा वयस्क पुरुषहरूलाई लैंगिक समानता, पारिवारिक जिम्मेवारी बाँडफाँड, तथा हानिकारक लैंगिक मापदण्डहरूबारे सचेत गराउन संवाद अत्यन्त प्रभावकारी हुन्छ।
“समाजमा समानता स्थापित गर्न सबै पक्षले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ,” उनले थपे।
स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजक संस्थाले जनाएको छ।