
कोहलपुर, बाँके – नेपाल टेलिभिजन (एनटिभी) कोहलपुरमा पछिल्लो समय अनियमितता मौलाएको छ। कार्यालय प्रमुखदेखि शाखा प्रमुखसम्मको संलग्नतामा यहाँबाट झन्डै दुई ट्याक्टर बराबरको सिसौको काठ गायब भएको छ। स्रोतका अनुसार काठ व्यवस्थापन गर्न कार्यालय प्रमुखको सक्रियतामा यसलाई बाहिर पठाइएको हो। यस विषयमा कार्यालयभित्र ठुलो चलखेल भएको र कर्मचारीहरूलाई गुमराहमा पार्ने प्रयास भइरहेको बताइएको छ।
कार्यालय परिसरबाट काठ बाहिर लैजान कार्यालयका चालक, गार्ड तथा अन्य कर्मचारीहरूको समूह निर्माण गरेर चलखेल गरिएको देखिन्छ। यसरी बाहिर लगिएको काठलाई कार्यालय परिसरबाट बाहिरै व्यवस्थापन गरिएको पाइन्छ। अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय, कोहलपुरका केही कर्मचारीहरूको समेत संलग्नता देखिएको छ। सरकारी कार्यालयमा रहेको काठ बिना स्वीकृति बाहिर जानु गम्भीर अनियमितता भएको कर्मचारीहरू बताउँछन्।
स्रोतका अनुसार इन्जिनियरिङ शाखाका केही कर्मचारीहरूले कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूलाई व्यक्तिगत रिसिबिका आधारमा मानसिक तनाव दिने गरेका छन्। उनीहरूले एनटिभी कोहलपुरलाई आफ्नै पारिवारिक सम्पत्तिजस्तो व्यवहार गर्दै आएको गुनासो छ। कार्यालय प्रमुखको निष्क्रियता र निष्पक्षता नहुँदा स्थायी कर्मचारीहरूबीच नै विवाद चुलिएको छ। कार्यालय प्रमुखको पक्षपातपूर्ण रवैयाका कारण जसले चाकडी गर्छ, उसकै काम तुरुन्तै हुने र अरू कर्मचारीहरू विभेदको सिकार बन्ने गरेका छन्।
एनटिभी कोहलपुरमा कार्यरत स्थायी कर्मचारीहरूका लागि सुविधामा पनि असमानता देखिएको छ। कतिपय कर्मचारीहरूले आवास सुविधा पाइरहेका छन् भने कतिपयलाई सवारी सुविधा समेत उपलब्ध छैन। यसले कर्मचारीहरूबीच दूरी बढाउने काम गरेको छ। कार्यालय प्रमुखकै कारण यस्तो विभेद भएको कर्मचारीहरूको आरोप छ।
इन्जिनियरिङ शाखाको बेतिथी: वाईफाई नियन्त्रणदेखि ओभरटाइम दुरुपयोगसम्म
इन्जिनियरिङ शाखाका केही कर्मचारीहरूको मुख्य काम कार्यालयको वाईफाई नियन्त्रण गर्नु रहेको स्रोत बताउँछ। मनपर्ने व्यक्तिहरूलाई मात्र वाईफाईको पासवर्ड उपलब्ध गराइने तथा अन्यले चलाउने बित्तिकै पासवर्ड परिवर्तन गरिने गरिएको छ। यसले एनटिभी कोहलपुर सार्वजनिक भन्दा केही व्यक्तिको पारिवारिक टेलिभिजन जस्तो बनेको आरोप लाग्न थालेको छ।
स्रोतका अनुसार केही कर्मचारीहरू दिनभर हाजिर गरेर काम नगरी ओभरटाइमको पैसा लिने गरेका छन्। जसले गर्दा राज्यको ढुकुटीमा अनावश्यक भार परेको छ। मनपर्ने कर्मचारीहरूको ओभरटाइम स्वीकृत गरिए पनि अन्य कर्मचारीहरूलाई ओभरटाइम गर्न नदिने प्रवृत्ति मौलाएको छ।
यस विषयमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई बुझ्दा उनले घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गरिने आश्वासन दिएका छन्।
एनटिभी कोहलपुरमा कार्यरत अधिकतम स्थायी जनशक्तिको उचित व्यवस्थापन नहुँदा कार्य सम्पादनमा प्रभाव परेको छ। पारिवारिक गुटबन्दी तथा अनियमितताका कारण संस्थाको विश्वसनीयता खस्कँदै गएको देखिन्छ। यसलाई सुधार गर्नका लागि पारदर्शिता अपनाइ व्यवस्थापनलाई थप सक्षम बनाउनु आवश्यक छ।