
१३ भदौ,
तनहुँ । तनहुँको व्यास नगरपालिकामा बाघको विभिन्न अगंको भागसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, तनहुँको व्यास नगरपालिका वडा नं. ६ स्थित सिरूबारीमा बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, सोही ठाँउको वडा नं. १ स्थित रतनपुरमा बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र शुक्लागण्डकी नगरपालिका वडा नं.१ स्थित ओखल्दीमा बस्ने ४० वर्षीय सन्जित गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट २ थान बाघको छाला, १ सय २२ वटा बाघको हड्डीहरु फेला परि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय, दमौली तनहुँमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।