
११ साउन,
काठमाडौं : सेयर कारोबार यो साताको दोस्रो दिन नेप्सेमा सोमबार ८.२४ अंकले घटेर ३ हजार ५०.४२ विन्दुमा झरेको हो ।
आज बजार घटे पनि नेप्सेमा सूचिकृत दुई सय २३ ओटा कम्पनीमध्ये ७ ओटाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर, माउण्टेन हाइड्रोनेपाल र ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी हिमालयन उर्जा विकास कम्पनी र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो। आज बिशाल बजार कम्पनीको शेयर मूल्य प्रतिकित्ता सात हजार तीन सय ८५, जानकी फाइनान्सको पाँच सय ६६ दशमलव ५०, रिडी हाइड्रोपावरको ६ सय १६, माउण्टेन हाइड्रो नेपालको पाँच सय ३९ र ग्रीनलाइफ हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता पाँच सय ६३ दशमलव १० कायम भएको छ।
त्यसैगरी हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य चार सय ७५ दशमलव ५० र ङादी ग्रुप पावरको शेयर मूल्य आठ सय ३९ दशमलव ८० पुगेको छ। आज ३७ करोड ६१ हजार चार सय ४७ कित्ता सेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार चार सय ३१ रुपैयाँमा खरिद बिक्री भएका छन्।
आइतबार नेप्से परिसूचक ५४.३१ अंकले उकालो लागेर हालसम्मकै उच्च ३०५८.६८ को विन्दुमा उक्लिएको थियो।