
४ साउन,
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–२ कार्तिककुवरका ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ–५ की २१ वर्षीया रुवीकुमारी साह रहेका छन् । उनीहरुलाई आइतबार साँझ क्षिरेश्वरनाथ–५ महेन्द्रनगरको हनुमान चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
ज ३ प ५४९ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुमाथि शंका लागेपछि चेकजाँच गर्दा पाँच किलो गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक मिश्रले बताए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।