
असार,
कैलालीस्थित गौरीगंगा गाउँ भित्र प्रवेश गरेको बाघलाई मारिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा देखिएको बाघलाई सिकारीले मारेको पुष्टि भएको छ ।
स्थानीयले पाठेबाघको छाला निकालेर बेच्न खोज्दा मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका दुईजनालाई प्रहरीले पक्राउ गरेपछि सोही बाघ मारेको पुष्टि भएकोे हो ।
मंगलबार बेलुकी मोलमोलाई गरेर किन्ने बहाना गर्दै बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । १० फिट १ इन्च लामो बाघको छालासहित प्रहरीले मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका ५२ वर्षिय पूर्णबहादुर बुढामगर र उनकै ज्वाइँ नाता पर्ने लम्कीचुहा नगरपालिका वडा नम्बर १ घर भएका ३० वर्षिय लोकेश सिजापतीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
गत फागुन २ गते गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीलाई पाटेबाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भएको थियो । माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको पाटे बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुगेको थियो । फागुन ९ गते सालघारीमा देखिएको बाघलाई स्थानीयले सोही समयमा मारेको हुनसक्ने आँकलन गरिएको बताएको छ ।
समाचार स्रोत एजेन्सी