
२७ असार,
वीरगञ्ज : पर्साको ठोरी गाउँपालिका–४ विजय बस्ती चोक छेउमै एउटा अनुदान गरिएको एम्बुलेन्स झाडीमा थन्किएको छ ।
मर्मत सम्भारको अभावमा बा१झ ९४५ नम्बरको एम्बुलेन्स झाडिमा थन्किएको हो । एकै ठाउँमा लामो समयसम्म राखिएको कारण एम्बुलेन्सलाई झाडी र लहराले समेत ढाक्न थालेको छ ।
‘तपार्इंको सेवा हाम्रो धर्म’ नारा लेखिएको एम्बुलेन्स मर्मत सेवा नपाउँदा थन्किएको स्थानीयहरु बताउँछन् । स्थानीय तहको निर्वाचन हुनुअघि नै भारतीय महावाणिज्य दूतावासले निर्मल बस्ती स्वास्थ्य चौकीका लागि एम्बुलेन्स अनुदान सहयोग गरेको थियो । केही वर्ष एम्बुलेन्सबाट स्थानीयले सेवा पनि पाएका थिए ।
बिग्रिएको एम्बुलेन्स साढे दुई लाख मर्मत गरेर सञ्चालनमा ल्याएको तर फेरि बिग्रिएपछि मर्मत गर्न नसकेर थन्किएको स्थानीय कुलबहादुर श्रेष्ठ बताउँछन् । उनी पछिल्लो पटक गठन गरिएको दिलबहादुर श्रेष्ठ संयोजक रहेको एम्बुलेन्स सञ्चालक समितिमा सदस्य थिए ।
संयोजक श्रेष्ठका अनुसार, एक डेढ लाख खर्च गर्ने हो भने एम्बुलेन्स सञ्चालनमा आउने दाबी उनको छ । ‘चक्का हामीले फेरेका थियौं, रंगरोगन गरेकाले बडी पनि ठीकै छ । इन्जिन र हृयान्डिल मर्मत गर्दा एक÷डेढ लाख खर्च लाग्न सक्छ, तर चल्ने अवस्थामा नै छ,’ उनले भने, ‘गाउँपालिकाले नै एम्बुलेन्स भाडा सस्तो गरिदिएकोले मेन्टेन गर्न सकेनौं । सधैं चन्दा उठाएर मर्मत गर्न सक्ने कुरा भएन, त्यसैले चुपचाप बसेका छौं ।’
स्थानीय सन्तोष श्रेष्ठ गाउँपालिकाले मर्मत नगरिदिएर जनतालाई एम्बुलेन्स सेवाबाट बञ्चित गरेको गुनासो गर्छन । ‘स्थानीयले मर्मत गरेर चलाएपछि फेरि बिग्रियो, गाउँपालिकाले मर्मतका लागि सहयोग गर्नुपर्छ नि !’ उनले भने, ‘अहिले गाउँपालिकाको एम्बुलेन्स औषधि लिन गएको छ त कता गएको छ भन्छन्, निजी सवारी साधनमा महँगो भाडा तिरेर बिरामी उपचारका लागि लैजानुपरेको छ । गाउँमा दुई तीन जना बिरामी भए भने आपत्तै पर्छ ।’