
२४ असार,
दाङ : दाङमा अविरल वर्षाका कारण घर भत्किँदा ३ महिनाकी शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान ३ बजेतिर अबिरल बर्षाका कारण घर भत्किँदा शिशुको मृत्यु भएको छ भने उनकी आमा र दिदी गम्भीर अवस्थामा घाइते भएका छन् ।
मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताएका छन् ।
घाइते आमा–छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घटनास्थलबाट शिशुको शव निकालिएको छ । घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको प्रहरीको भनाइ छ ।