
२१ असार,
बर्दिया : पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एक जनाको मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका–३ का ६७ वर्षका चित्रबहादुर केसीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिएका छन् ।
आईतबारदेखि हराइरहेका केसीको शव सोमबार बिहान नेपाल भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र क्षतविक्षत अवस्थामा फेला पारेको हो । बाघले आक्रमण गरेको अवस्थामा उनको शव फेला परेको डिभिजन वन प्रमुख वाग्लेले बताएका हुन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १२ जनाको ज्यान गएको छ । निकुञ्ज प्रशासनले मानव र वन्यजन्तुविचको बढ्दो द्धन्द्ध न्यूनीकरणका लागि प्रयास थालेको बताएता पनि द्वन्द्व अझ बढ्दो अवस्थामा छ । स्थानीयलाई जंगल प्रवेश नगर्न निकुञ्जले पटक–पटक आग्रह गरे पनि स्थानीयको लापरबाहीले गर्दा वन्यजन्तुको सिकार हुने गरेका छन् ।