
२१ असार,
काठमान्डौँ : नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ ।
सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
नेपाली सेनाले दिएको हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षाको लागि उपयोगी हुने सेनाले बताएको छ । यसबारे मन्त्रिपरिषद्को गत जेष्ठ १७ गते बसेको बैठकले नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा उपलव्ध गराउने निर्णय गरेको थियो ।
बाँकी उक्त हतियार तथा एम्युनिशन ३ चरणमा उपलव्ध गराउने योजना अनुसार २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले बताएको छ ।
उपलव्ध गराईएका हतियारको मर्मत तथा सञ्चालन तालिम समेत सेनाले नेपाल प्रहरीलाई प्रदान गर्ने जनाइएको छ ।
यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।