
११ असार,
काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ आजदेखि बिक्री खुला गरिएको छ । आजदेखि बिक्री खुला गरिएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।
सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिएका हुन ।
उनका अनुसार प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ । त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी रहेका १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ। सो शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरोशेयर एप (सफ्टवेयर) मार्फत समेत आइपिओमा आवेदन दिन सकिनेछ ।