
८ असार,
काठमाडौं : शेर बजार लगातार ५ दिन सम्म घटेको मंगलबार आज करिब ८० अंकले वृद्धि भएको छ ।
यो अवधिमा १९१ अंकले ओरालो लागेको सेयर बजार मंगलबार ७९.४३ अंकले वृद्धि भएको हो । यो सँगै नेप्से परिसूचक २९१३.८४ अंकको विन्दुमा उक्लिएको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.११ अंकले बढ्दै ५३६.२५ को उचाइमा पुगेका छन् । नियामक नेपाल धितोपत्र बोर्डले ‘जोखिमयुक्त’ भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेसँगै बजारमा लगातार पहिरो गएको थियो । आज बजारमा सवा १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।
आज नेप्से उप–समूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । विकास बैंक र वित्त समूहमा सर्वाधिक बढोत्तरी भएको छ । यो दुवै समूहमा ५.७७ प्रतिशतको बढोत्तरी भएको छ ।
जलविद्युत समूह ५.४७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.३२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.२८ प्रतिशत, लगानी समूहमा ४.२६ प्रतिशत, जीवन बीमा समूहमा २.२० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७५ प्रतिशत, लघुवित्त समूहमा १.२६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३७ प्रतिशत, निर्जीवन बीमा समूहमा २.६० प्रतिशत, अन्य समूहमा १.५३ प्रतिशत र व्यापार समूहमा ०.५७ प्रतिशतको बढोत्तरी भएको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
मंगलबार नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँमा किनबेच भएको छ । यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
एचआईडीसीएलको ३२ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको २६ करोड ३४ लाख रुपैयाँ, निफ्राको २० करोड ७३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १८ करोड ४४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १६ करोड ९७ लाख रुपैयाँ, ज्योति विकास बैंकको १६ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १६ करोड ७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ७४ लाख रुपैयाँ र मेगा बैंकको १५ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
मंगलबार २९ वटा कम्पनीका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । पाँच वटा कम्पनीका सेयरमूल्यमा १० प्रतिशत र २४ वटा कम्पनीका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो ।
१० प्रतिशतले बढेका कम्पनीहरु
जानकी फाइनान्स
बरुण हाइड्रोपावर
एचआईडीसीएल
ङादी ग्रुप पावर
पञ्चकन्या माई हाइड्रोपावर
१० प्रतिशतको हाराहारीले बढेका कम्पनीहरु
राधी विद्युत कम्पनी
जोशी हाइड्रोपावर
कालिका पावर
युनियन हाइड्रोपावर
घलेम्दी हाइड्रोपावर
खानीखोला हाइड्रोपावर
हिमालयन पावर पार्टनर
लिबर्टी इनर्जी
दिव्यश्वरी हाइड्रोपावर
गुहेश्वरी मर्चेन्ट बैंक
हिमालयन ऊर्जा विकास
युनाइटेड मोदी हाइड्रोपावर
बेस्ट फाइनान्स
शिवश्री हाइड्रोपावर
हिमाल दोलखा हाइड्रोपावर
सिनर्जी पावर डेभलपमेन्ट
छ्याङ्दी हाइड्रोपावर
सेन्ट्रल फाइनान्स
समृद्धि फाइनान्स
नेसनल हाइड्रोपावर
नेपाल हाइड्रो डेभलपर्स
युनिभर्सल पावर
आँखुखोला जलविद्युत
ग्रिन डेभलपमेन्ट बैंक
आज अपी पावर, माउन्टेन हाइड्रो, प्रोग्रेसिभ फाइनान्स र रिलायन्स फाइनान्सको सेयर मूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ । यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ । सेबोनको पछिल्लो कदमले नयाँ र साना लगानीकर्ताले आत्तिएर सेयर बेच्दा बजारमा केही करेक्सन आएको सेयर बजारका जानकारहरु बताउछन् ।