
३ असार,
काठमाडौं : नेपाली कांग्रेसले पार्टीका नेता÷कार्यकर्ता तथा शुभेच्छुकहरूबाट प्राप्त आर्थिक सहयोग उपयोग गरी कोभिड–१९ संक्रमण उपचारमा अत्यावश्यक अक्सिजन कन्सेन्ट्रेटर वितरण गरिरहेको जानकारी गराएको छ । सार्वजनिक अस्पतालहरूमा कांग्रेसले यो उपकरण उपलब्ध गराइरहेको छ ।
सो पार्टीले गठन गरेको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको ५० थान अक्सिजन कन्सेन्ट्रेटर अत्यावश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालमा वितरण गर्दै आईरहेको छ । यस्तो प्रकारको एउटा मेसिनबाट दुई बिरामीलाई एकैपटक मेडिकल अक्सिजन दिन सकिन्छ ।
समिति संयोजक एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विज्ञप्तिमार्फत उक्त सहयोगका लागि पार्टीका विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई धन्यवाद दिएका छन् । साथै, थप आउँदै गरेको आर्थिक सहयोगबाट पनि आगामी दिनमा आवश्यक ठाउँमा सहयोग गर्दै जाने उनले उल्लेख गरेका छन् ।
कोभिड–१९ संक्रमणको रोकथाम, उपचार र राहत सहयोग कार्यमा कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समिति पनि सक्रिय छन् । जनसम्पर्क समितिले समय–समयमा नेपालका विभिन्न जिल्लामा त्यस्तो सहयोग गर्दैआएको छ ।
सभापति शेरबहादुर देउवाको अनुरोधमा केन्द्रीय समितिलाई कोभिड–१९ संक्रमणका स्वास्थ्य सामग्री खरिद गरी बिरामीको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी रहेको समेत महतले उल्लेख गरेका छन् ।
कोरोना महामारी रोकथामका लागि सचेतना अभियानअन्तर्गत देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका कांग्रेसका संरचना, कोभिड–१९ अनुगमन जिल्ला समिति, भ्रातृ एवं शुभेच्छुक संस्था क्रियाशील रहेको डा. महतले जानकारी दिएका छन् ।
अभियान अन्तर्गत पार्टीले मास्क र स्यानिटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकलाई सहयोग, संक्रमित भई आइसोलेसनमा बसेकालाई परामर्श तथा उपचारका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर लगायत स्वास्थ्य सामग्रीसमेत वितरण गर्दै आएको छ ।