
१ आसार,
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७७ को (माद्यामिक शिक्षा परीक्षा) एसईईको आन्तरिक मूल्यांकन कार्यविधि सार्वजनिक गरेको छ । बोर्डले एसईईको विधार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ को सार्वजनिक गरेको हो ।
कार्यविधिमा ग्रेड बृद्धि परीक्षाका लागि आवेदन गरेका विद्यार्थीको मूल्याङ्कन गर्दा विद्यालयले उपयुक्त विधि (अनलाइन÷अफलाइन आदि) बाट सैद्धान्तिक तर्फको पूरै पूर्णाङ्कमा परीक्षा लिई विद्यार्थी मूल्याङ्कन गरी परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएको मार्क लेजर÷ट्रिप्लिकेट अनुसार विवरण प्रमाणित गरी शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ ।
विद्यार्थीहरुको प्रयोगात्मक प्राप्ताङ्क चढाउँदा सम्बन्धित विद्यालयहरूले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरण अनुसार अङ्क चढाउनुपर्नेछ। मूल्याङ्कन समितिले इकाईमा पेश गरेको विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न पाइने छैन ।
कुनै प्राविधिक त्रुटी भएमा मूल्याङ्कन समितिलाई उक्त त्रुटी सच्याई पुनः पेश गर्न लगाउन सकिनेछ। त्यस्तै,मूल्याङ्कन समितिले मूल्याङ्कन गरी पठाएको प्राप्ताङ्क अस्वभाविक देखिएमा त्यस्ता विद्यालयका विद्यार्थीको मूल्याङ्कनको प्रमाण कागजात समेत माग गर्न सकिनेछ।
विषयगत प्राप्ताङ्क सैद्धान्तिक तर्फ ८० प्रतिशत वा सो भन्दा माथि प्राप्त गर्ने विद्यार्थीको हकमा ठोस कारण उल्लेख भए÷नभएको जाँच गरी प्रमाण नपुगेको विद्यार्थीको पुनः मूल्याङ्कनका लागि फिर्ता पठाउन सकिने कार्यविधिमा उल्लेख छ।
बोर्डले विद्यार्थीले प्राप्त गरेको प्रमाणित प्राप्ताङ्क असार २० गतेभित्र अनिवार्य रुपमा शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्ने निर्देशन दिएको छ ।