
जेष्ठ-२२ ।
कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगित भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएका छन्। सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयअनुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन्।
स्नातक तह दोस्रो, चौथो र छैठौँ सेमेष्टरका परीक्षाहरु साउन ५ गतेबाट सञ्चालन हुने सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तले जानकारी दिए।
बैठकपछि विश्वविद्यालयको केन्दीय कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातक दोस्रो, चौथो र छैठौँ सत्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षाहरु जेठ २५ बाट सञ्चालन हुनेछन्।
कोरोना संक्रमणको जोखिम र निषेधाज्ञा पनि जारी रहेकोले वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा गरिन लागिएको हो। यद्यपी अवस्था सामान्य भएमा तथा नेपाल सरकारले निर्णय गरेमा कक्षा र निर्धारित परीक्षा भौतिक रुपमै सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ।
वैकल्पिक माध्यमबाट सञ्चालन हुने परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले जेठ मसान्तभित्र कार्यविधि तयारी पार्ने, असार २० सम्म परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिसक्ने जनाएको छ। परीक्षालाई लिखित तथा मौखिक र विद्यार्थीलाई विश्लेषणात्मक उत्तर दिनुपर्ने खालको प्रश्नपत्र तयार पारिनेछन् ।
अनलाइन प्रविधिबाट परीक्षा तयारी भइसकेपछि विद्यार्थीको मक टेष्ट गराइने छ। अहिले विश्वविद्यालयले माइक्रोसफ्ट सफ्टवेयर खरिद गरेकाले सोहीमार्फत परीक्षा पनि सञ्चालन गरिनेछन्।
स्नातकोत्तर तहको हकमा दोस्रो सेमेष्टरका विद्यार्थीलाई तेस्रो सेमेष्टमा राखी जेठ २५ गते र दोस्रो र चौथो सेमेष्टरको परीक्षा साउन २४ गतेबाट वैकल्पिक माध्यमबाट गरिने सूचनामा उल्लेख गरिएको छ ।
केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार तयारी थालिएको पाटन बहुमुखी क्याम्पस, बैतडीका प्रमुख उत्तम भण्डारीले बताए। उनले भने, ‘कक्षा सञ्चालन र परीक्षा सञ्चालनको लागि हामीले पनि तयारी थालेका छौं, आइतबार जुम मिटिङ राखेका छौं।’