
जेष्ठ-२१,काठमाडौ ।
जसपाको अध्यक्ष महन्थ ठाकुर पक्ष शुक्रबार सरकारमा सहभागि हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार राति भएको लामो छलफलपछि ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो ।
आफुहरुले उठाएको मागको सम्बोधन भएको भन्दै जसपाको महन्थ ठाकुर पक्ष नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो।
प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले आज आफु निकट नेताहरुसंग त्यसबारेमा छलफल गर्दैछन्, जसपाले भन्याे ।
जसपाका अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र भौतिक मन्त्रालय पाउने सहमति भइसकेको छ ।
सर्वोच्च अदालतले पूर्वमाओवादी केन्द्रका नेतालाई मन्त्रीबाट पदमुक्त गरेपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हालिरहेका छन् । तिनै मन्त्रालय जसपालाई दिने सहमती भएको हो ।