२८ वैशाख,

काठमाडौं : सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका मात्रै खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत जानकारी गरेका छन् ।

अहिले देशभर ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । यसमध्ये भारतसँग जोडिएका अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा जारी रहेकोले ती जिल्लामा रहेका अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द गरिएको थियो। सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै ती सीमानाका खुला रहनेछन् ।

गत बिहिबार मध्यरातिदेखि चार्डर र उद्धार उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान समेत बन्द छन् । तर अहिले साताको दुई दिन राष्ट्रिय ध्वजाबाहक विमानले नेपाल–भारत उडान भर्दै आएको छ । यो नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अन्तर्गत् जारी राखिएको सेवा हो । नियमित उठान नहुँदा अध्ययन, उपचार र व्यापारका लागि आउजाउ गर्न सहज होस् भनेर गत वर्ष नेपाल र भारतबीच एयर बबल सम्झौता भएको थियो । यो उडानमा नेपाल र भारतका नागरिकले मात्र यात्रा गर्न पाउँछन् ।

हवाई मार्गबाट आउन सम्भव नभएका नेपालीहरुलाई नेपाल फर्किन सहज होस् भनेर नेपाल सरकारले स्थलमार्गबाट पनि नेपाल आउने बाटो खोलिदिएको छ। परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार सुदूर पश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने भएको छ ।

त्यस्तैगरि, बाँकेको जमुनाह नाका, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल प्रवेशको लागि अनुमति दिइएको छ ।

सीसीएमसीको निर्णय अनुसार नेपाल प्रवेशको लागि अनुमति दिइएका १३ नाकाहरुको नाम तल दिइएको छ ।

१. पुलाघाट – दार्चुला
२. झुलाघाट – बैतडी
३. गड््डा चौकी – कञ्चनपुर
४. गौरीफन्टा – कैलाली
५. जमुनाह – बाँके
६. कृष्णनगर –कपिलवस्तु
७. बेलहिया – रुपन्देही
८. वीरगञ्ज – पर्सा
९. गौर – रौतहट
१०. भित्तामोड –धनुषा
११.जोगबनी – मोरङ
१२. काँकडभिट्टा – झापा
१३. पशुपति नगर – इलाम

प्रतिक्रिया

सम्बन्धित ख