
२६ वैशाख,
बाँके अपडेट : कैलाली, बाँके, वीरगन्ज, दाङ र मोरङमा गरी कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ।
कैलालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गएराति देखि आज बिहानसम्म ३ जनाको धनगढीस्थित सेती अस्पताल र ३ जनाको निजी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले बाँके अपडेटलाई टेलिफोन मार्फत जानकारी दिएका हुन् ।
जोशीका अनुसार सेती अस्पतालमा धनगढीका ५० र ४५ वर्षीय पुरुष र कन्चनपुरका ६० वर्षीय पुरुषको मृत्यु भएको हो। यस्तैगरि, निजी अस्पतालमा कैलाली लम्कीचुहाका ४३ वर्षीय पुरुष र टिकापुरका ५० वर्षीय २ जना पुरुषको मृत्यु भएको हो।
यस्तैगरि, बाँकेमा ७ जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–१५ का ७३ वर्षीय पुरुष, नेपालगन्ज–२ की ५३ वर्षीया महिला र नेपालगन्जकै ४३ वर्षीय पुरुष मृत्यु भएको हो। यस्तै दाङको तुल्सीपुर– ६ का ४१ वर्षी पुरुषको मृत्यु भएको छ। बाँकेकै भेरी अस्पतालमा थप ३ जनाको मृत्यु भएको हो। बर्दियाका २ महिला र दाङकी १ वृद्धाको मृत्यु भएको हो। बर्दिया बढैयातालकी ६५ वर्षीया र ३० वर्षीया महिला तथा दाङकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँके अपडेटलाई जानकारी दिए।
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा हिजो बेलुकी २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १२ का ७५ वर्षीय पुरुष र घोराही १८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए।
यसैबीच वीरगञ्जमा थप २ जनाको मृत्यु भएको छ। नारायणी अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरका ६० वर्षीय वृद्धको आज बिहानै हृदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ । वीरगन्ज ३ की ७२ वर्षीया महिलाको पनि आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए। पर्सामा पनि आजै थप ८५ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ६४ जना पर्साका र अरु बारा, सर्लाही र रौतहटका रहेका छन्।
यसैगरी, मोरङमा थप १ जना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मोरङको ग्रामथान गाउँपालिकाका १ कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको शनिबार राति १०:१५ बजे मृत्यु भएको हो।
प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार वैशाख १५ गते अस्पतालमा भएका ती पुरुषमा वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती पुरुषमा कुनै दीर्घरोग नरहेको अस्पतालले जनाएको छ। शव व्यवस्थापनको तयारी भइरहेको डा. पोखरेलले बताए छन् ।