
२४ वैशाख,
बुटवल : दाङको गढवा गाउँपालिकाका एक वडा अध्यक्षले कोरोना संक्रमितलाई अस्पताल सम्म पुर्याउने प्रयोजनका लागि आफ्नै निजी गाडी उपलब्ध गराएका छन् ।
गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका छन्।
कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पुर्याउन गाडी उपलब्ध गराउने निर्णय गरेको उनले बताएका छन् । २५ वर्षिय वडा अध्यक्ष सिद्दिकीले कोरोना संक्रमण अन्त्य नहुँदासम्म आफू मोटरसाइकलमा यात्रा गर्ने समेत उनले बताएका छन् ।
बिहीबार मात्रै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरले आफू चढ्दै आएको नगरपालिकाको दुई वटा स्कारपियो गाडी पनि संक्रमितलाई अस्पताल पुर्याउने प्रयोजनका लागि नगरपालिकालाई दिएका थिए ।