२४ वैशाख,

काठमाडौँ : नेपाल सरकारले अन्य सबै देशबाट हुने हवाई उडानलाई प्रतिबन्ध लगाएको छ। तर भारतसँग मात्रै सातामा दुईवटा उडान सुचारु राख्ने निर्णय गरेको छ । अहिले भारतमै सबैभन्दा बढी कोरोना संक्रमण भएको अवस्थामा अन्य देशको उडान बन्द गरेर भारतसँग चाहिँ सातामा दुई दिन उडान चालु राखिएको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी अन्य देशको हवाई उडान बन्द गरेर भारतसँग मात्रै खोल्नुको कारण ‘एअर बबल सम्झौता’ भएको बताउँछन् ।

गत मंसिरमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको उड्डयन प्राधिकरणबीच एअर बबल सम्झौता भएको थियो । सम्झौता अनुसार दुबै देशका सरकारी स्वामित्वका वायुसेवा कम्पनीले सातामा एक–एक उडान गर्ने सम्झौता भएको थियो ।

सम्झौता अनुसार कोभिड १९ लगायतका यस्तै महामारी वा अन्य असहज अवस्थामा पनि दुई देशका नागरिकका लागि आवात–जावत गर्न सातामा दुबै देशबाट एक–एक उडान गर्ने सम्झौता भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालको उड्डयन प्राधिकरण र भारतीय उड्डयन प्राधिकरणको सम्झौता बमोजिम सातामा दुबै देशबाट एक–एक उडान हुने भएको छ।

यस उडानमा नेपालमा बसोबास गर्ने भारतीय नागरिक, उपचार वा व्यापार व्यवसायमा संलग्न व्यक्तिहरु भारत जान पाउनेछन् भने भारतमा अध्ययन, बसोबास वा उपचार र व्यापारका लागि बस्ने नेपालीहरु स्वदेश फर्कन पाउनेछन् । यी दुई उडानमा तेस्रो देशका नागरिकले भने यात्रा गर्न पाउने छैनन् । यद्यपि तेस्रो देशबाट भारत हुँदै नेपाल आउन पाउने कि नपाउने भन्ने बारेमा भने स्पष्ट जानकारी पारिएको छैन ।

नेपाल वायुसेवा निगमका अनुसार नेपालबाट नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक बुधबार बिहान ११ः२० बजे नयाँ दिल्लीको लागि उडान भर्नेछ भने दिल्लीबाट त्यहाँको स्थानीय समय अनुसार २ बजे नेपालतर्फ आउने छ ।

त्यसैगरी, भारतको एअर इण्डियाको विमान प्रत्येक शुक्रबार अपरान्ह २ः३० बजे नेपाल आइपुग्नेछ र अपरान्ह ३ः३० बजे भारत प्रस्थान गर्नेछ ।

होटल क्वारेन्टिन अनिवार्य गरेका छौँ : “पर्यटन मन्त्रालय”

पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार एअर बबल सुविधा अन्तर्गत नेपाल आउने नेपाली वा भारतीय यात्रुहरुले अनिवार्यरुपमा होटल क्वारेन्टिनमा बस्नुपर्ने उनले बताएका छन् । उनीहरु कम्तिमा १० दिन होटल क्वारेन्टिनमा बसेपछि मात्रै आफ्नो घर वा अन्यत्र जान पाउने उनले बताए ।

भारतबाट नेपाल आउने नेपाली वा भारतीय यात्रुहरुले तत्कालका लागि छुट्याइएका ८ वटा होटलमा अनिवार्यरुपले क्वारेन्टिनमा बस्नुपर्ने छ । कुन होटलमा बस्ने हो, निश्चित भएका होटलहरुले नै पिकअप तथा खाना र बस्नको व्यवस्था गर्नुपर्नेछ । त्यसबापत प्रतिदिन अधिकतम ३ हजार रुपैयाँसम्म लिन पाउने पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार यात्रुहरु होटल क्वारेन्टिनमा बसेको वा नबसेको, कसरी बसेको वा राखेको भनी अनुगमन गर्नका लागि पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा पर्यटन बोर्डका सिइओ, नेपाल प्रहरीको समिति बनाइएको छ । उक्त समितिका सदस्यहरुले होटलमा पुगेर अनुगमन गर्नेछन् । र, सो को रिपोर्ट दैनिकरूपमा सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेश गर्नेछन् ।

यदि कुनै यात्रुले होटल क्वारेन्टिन पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने र कुनै यात्रु होटलमा नबसी गएमा सोको जानकारी होटलले तत्कालै प्रहरीलाई दिनुपर्ने गरी मापदण्ड निर्धारण गरिएको छ ।

दुई देशबीच उडान गर्दा पनि अनिवार्यरुपमा पिसिआर रिपोर्ट आवश्यक पर्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ ।

आफ्ना देशका नागरिक स्वदेश ल्याउने उद्देश्यका साथ भारतले २६ वटा मुलुकसँग एअर बबल सम्झौता गरिसकेको छ । एअर बबल सम्झौता अनुसार नेपाल र भारतमा काम गर्ने कूटनीतिक नियोगका प्रतिनिधि भएमा पनि आवत–जावत गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित ख