
२० वैशाख,
बाँके अपडेट : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख रकम राहत स्वरुप दिने भएको छ ।
गएको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई एक लाख रकम दिने निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै सोमबार कर्णाली प्रदेशका प्रवक्ता विमला केसीले संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको बताएकी हुन्।
यस्तैगरि, विषयगत मन्त्रालयहरूबाट समर्पण भएको एवम आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट जम्मा गरिने पनि केसीले बताएकी हुन् ।
प्रत्येक अस्पताललाई थप बजेट:
यस्तैगरि, बैठकले जिल्ला अस्पतालहरुमा प्रति जिल्ला १ करोडका दरले र प्रदेश अस्पताल सुर्खेतमा १ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ करोड, चौरजहारी अस्पताल रुकुममा १ करोड, मेहलकुना अस्पताल सुर्खेतलाई ५० लाख दैलेख अस्पताललाई ५० लाख रकम कोभिड–१९ सँग सम्बन्धित समस्या समाधान गर्न अति आवश्यक अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिजस्ता समस्याको समाधान गर्न प्रदेश विपद् कोषबाट प्रदान गर्ने निर्णय पनि भएको छ ,’ केसीले भनिन् ।
यस्तै, डोल्पाको ठुलो भेरी नगरपालिकाको वडा र सिमाना हेरफेर गर्न सरकार समक्ष पठाउने पनि निर्णय भएको छ।
सात दिन सार्वजनिक विदा:
कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थप गरिएको छ । प्रदेशभर लागू हुनेगरी सात दिन पर्व र दिवस हरुमा विदा दिने निर्णय गरेको हो ।
केसीका अनुसार धान दिवस असार १५ गते जुम्ला बाहेक अन्य ९ जिल्लामा मात्रै। चैत्र १२ गते जुम्लामा मात्रै सार्वजनिक विदा, साउने संक्रान्ति तथा देउडा पर्व साउन १ गते, प्रदेश स्थापना तथा शहीद दिवस भदौ ४ गते, असोज शुक्ल पूर्णिमा कार्तिक ३ गते, चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला असोज कृष्ण त्रयोदशी जुम्ला जिल्ला मात्र सार्वजनिक विदा दिने निर्णय भएको छ।