
१९वैशाख,
बाँके अपडेट : बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा रहेको कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।
ओलीका अनुसार मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । वैशाख १७ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । उनको १८ गते अपराह्न साढे ५ बजे मृत्यु भएको हो।
त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा नै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । वैशाख १७ गते पीसीआर परीक्षण गरिएकोमा उनलाई कोरोना पुष्टि भएको थियो । शनिबार साँझ ६ बजे उनको मृत्यु भएको हो ।
यसबाहेक मृत्यु हुनेमा खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ११ बाँकेका ४० वर्षीया एक महिला रहेकी छन् । जसमध्ये ५५ वर्षीय पुरुषको जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसनमा मृत्यु भएको हो भने महिलाको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जनाएको हो । ओलीले जानकारी दिएका छन्।
कञ्चनपुर अपडेट : कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको महाकाली अस्पतालका कोभिडका डाक्टर गोविन्द रोकायाले बाँके अपडेटलाई जानकारी दिएका छन्।
उनका अनुसार भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो, भने भेन्टिलेटरमा उपचाररत पुरुष बैशाख १६ गते अस्पताल भर्ना भएका थिए भने महिलाको दुई दिनदेखि ईमरजेन्सी वार्डमा अक्सिजन दिएर उपचार भइरहेको समयमा मृत्यु भएको जानकारी दिएका हुन्।
यस्तै धनगढीको कैलाली अस्पतालको कोभिड वार्डमा उपचाररत कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका ३३ वर्षीया संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बैतडी घर भएर महेन्द्रनगरमा बस्दै आएका उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको बाँके अपडेटलाई टेलिफोन मार्फत जानकारी दिएका हुन्।