
१७ वैशाख,
बाँके अपडेट : गत वर्ष कोरोनाको उपचारमा रात दिन नभनिकन खटिएका गुल्मीका स्वास्थ्यकर्मीले अहिलेसम्म तलव पाउन सकेका छैनन् ।
बिहीबार गुल्मीमा बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकमा जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले गत वर्ष कोरोनाको परीक्षण तथा उपचारमा खटिएका कर्मचारीलाई अहिलेसम्म तलब खुवाउन नसकिएको गुनासो पोखेका हुन् ।
स्थानीय तहका प्रमुखहरुलाई लक्षित गर्दै उनले भने, ‘तपाइँहरुको निर्णयअनुसार ल्याब सञ्चालन गरिएको थियो तर पैसा नआउँदा मैले स्वास्थ्यकर्मीहरुलाई अहिलेसम्म तलब खुवाउन सकिरहेको छैना ।
कोरोना संक्रमणको समयमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई विना तलब काममा लगाउनु ठुलो पाप भएको बताउँदै त्यो पाप पखालिदिन उनले आग्रह गरे ।
उनले गत वर्ष उपल्लो तम्घासको पीसीआर परीक्षणसहितको आइसोलेसनमा खटिएका १५ जना स्वास्थ्यकर्मीले तलब नपाएको बताए ।
गत वर्ष सदरमुकाम तम्घासमा जिल्लाको विशेष आइसोलेसन कक्ष सञ्चालनका लागि १० गाउँपालिकाले १०÷१० लाख र दुई नगरपालिकाले १५ लाखका दरले रकम दिने प्रतिबद्धता जनाएका थिए । त्यसमध्ये मुसिकोट नगरपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट र कालिगण्डकी गाउँपालिकाले ५÷५ लाख रुपैयाँ दिन बाँकी रहेकाले स्वास्थ्य कर्मचारीको ५० प्रतिशत तलव भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।
गुल्मीमा पछिल्लो २४ घण्टामा ४५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो दुई हप्तामा गुल्मीमा संक्रमितको संख्या १६५ पुगेको स्वास्थ्य कार्यालय प्रमुख डा. भवानीप्रसाद शर्माले बताए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जिल्ला अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बिहीबार सर्वपक्षीय बैठक सम्पन्न भएको र बैठकले निषेधाज्ञाका लागि सिफारिस गरेको जानकारी दिइन् ।
बैठकले रकम अभावका कारण बन्द भएको जिल्लाको एकमात्र पीसीआर परीक्षण केन्द्र (ल्याब) गाउँपालिकाहरु बाट २÷२ लाख र नगर पालिकाबाट ३÷३ लाख रकम दिनेगरी पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले रेसुङ्गा नगरपालिका–८ मा कोरोना संक्रमण विकराल देखिएको बताए ।
मेयर डिल्लीराज भुसालका अनुसार वडा नम्बर ८ मामात्रै ४० जनाभन्दा बढी संक्रमित छन् ।
बैठकमा सत्यवती गाउँपालिकाबाहेक १० वटाका पालिका प्रमुख र कालीगण्डकीका प्रतिनिधि सहभागी थिए ।
दलका नेता र जनप्रतिनिधिहरुले गुल्मीबाट निर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यहरुको चर्को आलोचना गरेका थिए ।
उनीहरुले कोरोना नियन्त्रणको नाममा संघीय तथा प्रदेश सरकारले एक सुको सहयोग नगरेको भन्दै सबै भार स्थानीय तहलाई बोकाइएको गुनासो गरे ।