१० वैशाख,

बाँके अपडेट : बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा उपचार कक्षको अभाव भएको छ । अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा सङ्क्रमितहरु भरिभराउ भएका छन् । भेरी अस्पतालमा अहिले एउटा पनि उपचार कक्ष खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापाले बताए ।

उनका अनुसार अस्पतालले कोरोना सङ्क्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १४२ शय्या भरिएका छन् । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिनहरु अझै भयावह हुने सम्भावना बढेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत घर पठाउनुपर्ने बाध्यता रहेको बताए । उनले सङ्क्रमण रोकथाम र सङ्क्रमित गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा. आसिम किदवाइले अस्पतालमा उपचार कक्षको अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् ।

उनले अहिले पनि शिक्षण अस्पतालमा तीन गम्भीर प्रकृतिका बिरामीले आइसीयू उपचार कक्ष पर्खेर बसेको जानकारी दिँदै कोभिडका बिरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर गएको उल्लेख गरे । कोरोना सङ्क्रमित बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् ।

भेरी अस्पतालका फिजिसियन डा. खगेन्द्रजङ्ग शाहले अहिले लक्षणसहितका सङ्क्रमित त्यसमा पनि अक्सिजन चाहिनेहरू बढी रहेको बताउँछन् । उनले परिवारका एक सदस्यलाई सङ्क्रमण पुष्टि भए अहिले प्राय सबैमा सङ्क्रमण देखिएको बताए ।

बाँकेका कोभिड सङ्क्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पतालमा उपचार कक्ष थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख